Welcome
आम नेपाली अभिभावकहरू आफ्ना सन्तानलाई खेलाडी बनाउन चाहँदैनन् भन्ने पुरानो मान्यता छ। अहिले पनि धेरै खेलाडी आमा-बुवाको इच्छाविपरीत लुकी-लुकी लेख्नुपर्ने बाध्यतामा छन्। त्यसकाविपरीत चर्चित मिडफिल्डर सन्दीप राई अभिभावकले प्रोत्साहन गरेर अघि बढेका खेलाडी हुन्। सुनसरी दुहबीका मध्यमवर्गीय परिवारका एक्ला छोरा सन्दीपलाई उनका बुवा दीपक तथा ठूलो बुवा दिलीपले हौसला दिएर खेलाडी बनाए। २३ वर्षका सन्दीपले यो उमेरमै ४३ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन्। गएको साता सम्पन्न साफ च्याम्पियनसिपमा उनको खेल पाका खेलाडीको झैं माझिएको भनेर प्रशंसा भएको थियो। राई दुवै खुट्टाले बराबर थ्रो गर्न सक्ने, फ्रि किकमा अब्बल एवं साथीलाई पास दिन सक्ने खुबी भएकै कारण प्रशंसित भएका हुन्।

राम्रो खेल्दाखेल्दै पनि तपाईंले म्यान अफ दि म्याचको उपाधि पाउनुभएन, दुःख लागेको छ ?

छैन, म्यान अफ दि म्याच हुनेभन्दा पनि म अडियन्सको रेस्पोन्समा विश्वास राख्छु। विदेशका कोचहरूले पनि मलाई भलाद्मी र लङ रेसको घोडा भन्नुभएको छ।

नेपाल फेरि साफ च्याम्पियन बन्नबाट चुक्यो, के प्रतिक्रिया छ ?

दुःख त लाग्छ नै। मचाहिँ बितेको कुरामा पश्चाताप गर्दिनँ। यो गेमले हामीलाई धेरै कुरा सिकाएको छ।

के सिकायो ?

हामी फुटबलमा कोहीभन्दा कम छैनौं। हो, अफगानिस्तानका ११ मध्ये ७ जना युरोपियन क्लबमा खेल्छन्। त्यसैले उनीहरू बलका साथै गेममा ट्याक्टिस पनि लगाउँछन्। फिजिक्सले पनि उनीहरूलाई साथ दिएको छ। हामी भने खेलमा गोर्खाली पारा देखाइहाल्छौं।

गोर्खाली पारा भन्नाले ?

भीड देखेर जोसमा आइहाल्ने र अट्याकमा गैहाल्ने। यसले काउन्टर एट्याक हुने डर हुन्छ। काउन्टर अट्याकमा अचानक कसैले बल फुत्काएर हाम्रो पोलमा पुर्‍याइदिन्छ। जबकी फुटबलमा सबै कुराको ब्यालेन्स चाहिन्छ।

तपाईंले भनेको गोर्खाली पाराका केही फाइदा त होलान् नि, छैन र ?

अँ, त्यसमा पि|m किक र कर्नर धेरै पाइन्छ। यस्तोमा नेपालले अरू देशलाई पेलेको देखिन्छ अनि मिड फिल्डरले पनि राम्रो खेलेको देखिन्छ। राम्रो देखिए पनि अनुशासनका दृष्टिकोणबाट यो राम्रो शैली होइन।

दक्षिण एसियाली देशका फुटबल खेलमा नेपाल बाहेक कुन देश बलियो लाग्छ ?

सबै देशको अवस्था उही नै हो। विदेशमा खेल्ने भएकाले अफगानिस्तानका खेलाडी बढी बलिया छन्।

तर नेपाल र अफगानिस्तानको खेल हेर्दा त नेपालले बढी पेलेको देखिन्छ नि ?

गएको दुई वर्षमा अफगानिस्तानसँग हाम्रो ६ खेल भयो। ३ खेलमा नेपालले जित्यो, २ खेल अफगानिस्तानले लग्यो र एउटामा ड्र भयो। तै पनि उनीहरूमा अनुभव बढी छ।

साफ च्याम्पियनसिपमा दर्शकहरूको क्रेज तपाईंलाई कस्तो लाग्यो ?

प्यारापिट टनाटन भएको देख्दा त मेरो आँखाले विश्वासै गरेन। होटलमै गएर टिकट पाइएन भनेर मेरा आफन्तले मसँग गुनासो गरेका थिए। पछि १ लाखको क्षमता भए पनि टिकट बिक्री हुने रहेछ भन्ने आयोजकहरूको कमेन्ट सुन्दा म जस्तो खेलाडीलाई कति खुसी लाग्यो होला, आफैं अनुमान गर्नुहोस् न।

फुटबलप्रतिको यो आकर्षकको कारण के होला ?

हामी विचरा नेपालीहरूले सार्वजनिक स्थानमा नेपाल भनेर कराउने कुनै कुरा पाइरहेका छैनौं। हामीले के मा गर्व गर्ने ? विकासमा गर्व गरौं छैन, कोही त्यति ठूलो वैज्ञानिक पनि हुन सकेका छैनन्। नेताहरू जुटाउनेभन्दा फुटाउने छन्। हामी धेरै कुरामा विभाजित छौं, सानो-सानो कुरामा विभाजित छौं। थेप्चे, चुच्चे, मधेसी, पहाडी, हिन्दु, बौद्ध सबैले एकसाथ नेपाल-नेपाल भनेर कराउने अवसर नै छैन। त्यसैले पनि यो क्रेज भएको हो।

तपाईंहरूको खेल राम्रो भएर वा फुटबलको पुरानो क्रेजको कारणले होइन ?

हामीले पनि राम्रो खेल्यौं। अहिले पनि एन्फा अफिसमा पुराना खेलका तस्बिर झुन्डयाइएका छन्। ती तस्बिरमा मानिसको भीड देखेर नेपालमा यो खेल पहिल्यैदेखि लोकपि्रय छ भन्ने कुरा प्रमाणित हुन्छ  तर यसपालि त हँदै भयो। प्यारापिट भत्कन्छ भन्ने डरले सबै जना आत्तिरहेका रहेछन्। यस्तो लोकपि्रयता हामीले राम्रो खेलेर मात्र प्राप्त भएको हो भन्नेचाहिँ लाग्दैन।

फुटबल खेलेर मात्र नेपालमा जीवन चल्दैन भन्ने कुरा तपाईंलाई थाहा छ ?

सबै कुरालाई आर्थिक रूपमा मात्र हेर्नुहुँदैन। मनको सन्तुष्टि मुख्य कुरा हो। मेरो खेलले परिवार र देशलाई केही दिन सक्छ भने आर्थिक पक्ष ठूलो कुरा होइन। मेरो उमेरका धेरै युवाले आफ्नो लक्ष्य पहिल्याएका छैनन्। फुटबलर वा अन्य खेलाडीले आफ्नो उमेरअनुसार जुन नाम कमाएका छन्, त्यो निकै ठूलो कुरा हो।

खेलाडी बन्छु भन्नेले ध्यान दिनुपर्ने कुराचाहिँ के रहेछ ?

खेलमा अन्धो भएर पढाइचाहिँ छाड्न नहुने रहेछ। फुटबलसँग यस्तो प्रेम बस्यो कि मैले क्याम्पस जानै छाडिदिएँ। राम्रो फुटबलरले औसत भए पनि पढाइ पुरा गर्नै पर्ने रहेछ। हामीलाई बैंक, कर्पोरेट अफिस, प्रहरी, सेना सबैले मनपराउँछन्। उनीहरू पनि हाम्रो खेल जीवनलाई सरल बनाउन चाहन्छन्। त्यसका लागि न्यूनतम शिक्षा वा क्वालिफिकेसन त चाहिन्छ, तर हामी भने पढाइलाई इग्नोर गर्दा रहेछौं।

चिन्ता लागेको छ ?

असाध्यै लागेको छ। तै पनि फुटबलसँग प्रेम भएकाले गलत गरे भन्ने चाहिँ लाग्दैन।

फुटबल र प्रेमिकामध्ये कुनै एक छाड्नु पर्‍यो भने कसलाई छाड्नु हुन्छ ?

प्रेम गर्न थालेको भर्खर दुई वर्ष भयो। विवाहको कुरा पनि चल्दैछ। तैपनि दुवैमध्ये एक रोज्नुपर्दा फुटबल नै रोज्छु।

प्रेमिकाहरूले खेलमा ऊर्जा दिन्छन् भनिन्छ। यसपटकको खेलमा तपाईंकी प्रेमिका पनि उपस्थित हुनुहुन्थ्यो, कस्तो लाग्दो रहेछ ?

खेल सुरु हुनुअघि सम्म त याद हुन्छ। त्यसपछि त म सबैलाई विर्सन्छु। एकैपटक मध्यान्तरमा उनलाई हेरें। खेलमा अरू प्रेम फिका हुँदो रहेछ।

यसोभन्दा प्रेमिका रिसाउलिन् नि ?

यो कुरा उनलाई थाहा छ।

प्रेम हुनलाई के कुराले भूमिका खेल्दो रहेछ ?

प्रेमबाहेक अरू कुनै पनि कुराको भूमिका हुँदैन। हृदयको आकर्षण नै ठूलो कुरा हो। मेरो प्रेम पनि त्यस्तै हो। हामीले रुप वा अन्य कुरा देखेर मन पराएको होइन। 

0 comments:

Post a Comment

 
Top