Welcome |
चर्चित भएपनि आचरणमाथि धेरैले प्रश्न उठाउने नायक केसीलाई टिकट दिनु मदन भण्डारी र मनमोहन अधिकारीको अपमान भएको त्यस क्षेत्रका कार्यकर्ताको टिप्पणी छ ।
‘यो राजनीतिक अपराधीकरण हो, वर्षौंदेखि पार्टीमा लागेका मान्छेले टिकट नपाएर केही वर्षमात्र पार्टी प्रवेश गरेकाले टिकट पाउनु’ एमाले क्षेत्रीय सदस्य गोपाल पाठकले भन्नुभएको छ । एमाले क्षेत्रीय र जिल्ला कमिटीले काठमाडौं १ बाट महानगरपालिकाका पूर्व मेयर विदुर मैनालीको नाम सिफारिस गरेको थियो ।
कतैबाट पनि सिफारिसमा नपरेका र पार्टी छोड्छु भनेर घुर्की लगाउने भुवन केसीलाई टिकट दिने नेतृत्वको निर्णयसँगै त्यहाँका एमाले अगुवा कार्यकर्ताले राजीनामा दिने बताएका छन् ।
काठमाडौं १ बाट २०४८ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई एमालेका मदन भण्डारीले पराजित गर्नुभएको थियो । त्यसपछि यो क्षेत्रलाई एमालेले प्रतिष्ठाको रुपमा लिने गरेको हो ।
२०५० सालमा मदन भण्डारीको रहस्यमयी दुर्घटनामा निधन भएपछि त्यस क्षेत्रबाट विद्या भण्डारीले फेरि पनि भट्टराईलाई पराजित गर्नुभएको थियो ।
२०५१ सालमा तत्कालिन पार्टी अध्यक्ष मनमोहन अधिकारी त्यही क्षेत्रबाट विजयी हुनुभयो ।
२०५६ सालमा पनि अधिकारी नै उम्मेद्वार बन्नुभयो । तर चुनाव अघि नै उहाँको निधन भएपछि प्रदीप नेपाल त्यहाँबाट उम्मेद्वार भएर विजयी हुनुभयो ।
त्यसपछि काठमाडौं १ को क्षेत्रमा हेरफेर भयो । अघिल्लो संविधानसभा चुनावमा एमालेले काठमाडौं १ बाट प्रदिप नेपाललाई नै उम्मेद्वार बनायो । तर त्यहाँ कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभयो ।
यसपटक पनि त्यहाँ कांग्रेसबाट सिंह नै उम्मेद्वार बन्नुभएको छ । कतिपय नेताहरुले सिंहलाई जिताउने रणनीति अनुसार त्यस क्षेत्रमा केसीलाई टिकट दिएको बताएका छन् ।
क्षेत्र नम्बर २ मा कांग्रेसले कमजोर मानिएकी प्रतिमा गौतमलाई उठाएर एमालेका माधव नेपाललाई जिताउन खोजेकाले त्यसकै पैंचो तिर्न एमालेले केसीलाई उठाएको चर्चा छ ।
0 comments:
Post a Comment