Welcome
एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले चलचित्रकर्मीहरुलाई चुनावमा सहयोग गर्न आग्रह गरेका छन् । एकिकृत माओवादीको मुख्य कार्यलय पेरिसडाँडामा पुगेका चलचित्रकर्मीहरुलाई प्रचण्डले जसरी भएपनि आफ्नो पार्टीले चुनाव जित्नु पर्ने बताउँदै एकजुट भएर लाग्न आग्रंह गरेका हुन् ।
प्रचण्डले चलचित्रकर्मीहरुलाई चुनाव प्रचारमा कुनै समस्या नहुने बताए । चुनाव प्रचार प्रसार समितिका संयोजक केपी पाठकले गाडी, खाना, बस्न तथा चलचित्रकर्मीहरुका लागि खर्चको व्यवस्था गरिदिन आग्रह गरेपछि प्रचण्डले भने, ‘तपाईहरु ढुक्क भएर लाग्नुहोस्, आर्थिक जिम्मा मैले लिए ।’
प्रचण्डले चलचित्रकर्मीहरुलाई तिहार लगतै आफूहरुले देशव्यापी जनअभियान संचालन गर्न लागेको बताउँदै केही चर्चित चलचित्रकर्मीहरुलाई उक्त अभियानमा हातेमालो गर्न आग्रह गरेका थिए । उनले आफू देशभर पुगेको र जनताको जनलहर देखेर चुनाव जितिसकेको बताउन पछि परेनन् । प्रचण्डले आफू २४० वटै क्षेत्रको उम्मेदवार भएको बताउँदै आफ्नो नाममा २ ठाउँबाट भोट मात्र मागेको बताएका थिए ।
चलचित्रकर्मीहरुलाई फकाउँदै उनले आफू प्रधानमन्त्री हुँदा चलचित्र क्षेत्रको विकासका लागि केही गरेतापनि अझै धेरै गर्न बाँकी रहेको बताए ।
करिब ७५ जना चलचित्रकर्मीहरुको हस्ताक्षर सहित केही चलचित्र क्षेत्रका व्यक्तिहरु प्रचण्डलाई भेट्न पेरिसडाँडा पुगेका हुन् । उनीहरुले काठमाण्डौ क्षेत्रका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउन लागिपर्ने बताए ।
कला, संगीत, चलचित्र तथा साहित्य क्षेत्रको विकास गर्ने पार्टी एकिकृत नेकपा माओवादी मात्र भएकाले आफूहरुले साथ दिएको चलचित्रकर्मीहरुको भनाई छ । चलचित्रकर्मीहरुले मंगलबार बिहान प्रचण्ड संविधान सभा चुनावमा लड्न लागेको काठमाण्डौ क्षेत्र नम्बर १० बाट घरदैलौ चुनावी अभियान आरम्भ गर्ने भएका छन् ।

0 comments:

Post a Comment

 
Top