| Welcome |
आश्विन २३ -
महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले किस्ट बैंक ठमेल शाखाबाट ८० लाख रुपैयाँ लुट्ने ६ जना अभियुक्तलाई पक्रेको छ ।
असोज ९ गते बैंककै कर्मचारी रोहित श्रेष्ठको योजनामा अमृत लामा, कृष्ण
सिजवाल, रामेश्वर पौडेल, लक्ष्मण अधिकारी र प्रकाश नेपाली लगायतले लुटेका
थिए ।
अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी श्रेष्ठ, लामा, सिजवाल,
पौडेल र अधिकारीलाई सार्वजनिक गरेको हो । श्रेष्ठ, लामा, सिजवाल, पौडेललाई
काठमाडौं र अधिकारी र नेपालीलाई भैरहवाबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक हरि पालको संयोजकत्वको
प्रहरी टोलीले अभियुक्तलाई पक्रेको हो । उपरीक्षक पालले ८० लाखमध्ये ६५ लाख
रुपैयाँ बरामद गरिएको बताए । '१४ लाख रुपैयाँभन्दा बढी खर्च गरेको जस्तो
छ,' उनले भने, 'चोरी गरेपछि अभियुक्तले भागबण्डा गरेछन् ।
श्रेष्ठको परिवारको आर्थिक अवस्था निकै नाजुक देखिएको उपरीक्षक पालले बताए
। 'दुई वर्षअघि क्यान्सर रोगले उनको बुवाको मृत्यु भएको रहेछ, अहिले आमा
पनि अस्पतालमा भर्ना भएकी रहिछन् । ऊ आफ्नो ऋणका कारण बैंक लुटेको बताउँछ,'
उनले भने । बैंक लुट्नअघि अभियुक्तहरूले ठमेलस्थित रामेश्वर पौडेलको
डेरामा योजना बनाएको उनले बताए ।
'अधिकारी र पौडेल पुराना साथी रहेछन्, त्यसरी नै साथी-साथी मिलेर योजना
बनाएका रहेछन्,' उनले भने । त्यसपछि उनीहरूले आफूलाई कलंकी शाखाको कर्मचारी
बनाई ठमेल शाखा लुटेको अनुसन्धानमा उल्लेख छ । अनुसन्धानअनुसार लुट्नुअघि
उनीहरूले ठमेलमै स्टाफ ड्रेस र आईडी कार्ड तयार गरेको पाइएको छ । ठमेल
शाखाका म्यानेजर इमान्दार र सोझो भएकाले अभियुक्तले फाइदा उठाएको उनले बताए
बैंकको कागजपत्र सम्पूर्ण श्रेष्ठले तयार गरेको उपरीक्षक पालले बताए ।
'रोहितलाई बैंकसम्बन्धी अनुभव रहेछ, उसले नै तयार गर्यो, उसकै योजनामा
बैंक लुटिएको देखिन्छ,' उनले भने ।
बैंक लुट्न जाँदा उनीहरूले नम्बर नखुलेको ट्याक्सी प्रयोग गरेका थिए ।
त्यसपछि सोही दिन प्रकाश नेपाली र लक्ष्मण अधिकारी वीरगन्ज हुँदै दिल्ली
गएको र अन्य काठमाडौंमै रहेको अनुसन्धानमा उल्लेख छ । अभियुक्तको बयान
सकिएकाले दसैंपछि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । दसैंअघिसम्म
अभियुक्तहरूलाई हिरासतमै राखिने उनले बताए ।
-
-

0 comments:
Post a Comment