Welcome
एमालेले ६० प्रतिशतभन्दा बढी यसअघिको संविधानसभामा प्रत्यक्ष चुनावमा सहभागी नभएकाहरूलाई उम्मेदवार बनाएको छ । २ सय ४० मध्ये १ सय ५० स्थानमा यसअघि प्रत्यक्षमा नउठेकाहरूलाई उम्मेदवार बनाएको हो । बाँकी ९० सिटहरूमा भने यसअघि संविधानसभाको चुनाव जितेका र हारेका दुवैलाई समेटेको छ ।  
सचिव शंकर पोखरेल, छविलाल विश्वकर्मा, शान्ता चौधरीलगायत यसअघि समानुपातिक सिटबाट सभासद बनेका केहीलाई यसपटक प्रत्यक्षतर्फ अघि सारेको छ ।
अघिल्लो पटक प्रत्यक्षमा चुनाव जित्ने १७ जनालाई फेरि पुरानै क्षेत्रमा प्रत्यक्षको उम्मेदवारको रूपमा अघि सारेको छ । यसअघि चुनाव चित्नेहरू इलामका झलनाथ खनाल, सुवास नेम्बाङ, झापाका दीपक कार्की, सुनसरीका भीमप्रसाद आचार्य, ताप्लेजुङका डम्बरध्वज तुम्बाहाम्फे, पाँचथरका डम्बरसिंह सम्बाहाम्फे, लमजुङका पृथ्वी सुब्बा गुरुङ, पर्साका प्रद्युम्न चौहान, पाल्पाका कुलप्रसाद नेपाल, धनुषाका शत्रुघ्न महतो, सुर्खेतका कमला शर्मा र यामलाल कँडेल, रूपन्देहीका विष्णुप्रसाद पौडेल, रामनाथ ढकाल, गुल्मीका प्रदीप ज्ञवाली, कास्कीका रवीन्द्र अधिकारी, धनुषाका रघुवीर महासेठ फेरि प्रत्यक्षकै उम्मेदवार बनेका छन् ।
चुनाव जित्नेमध्येका अध्यक्ष झलनाथ खनाल र सचिव विष्णु पौडेलले भने यसपटक सर्लाही १ र नवलपरासी ३ बाट पनि उम्मेदवारी दिने भएका छन् । यसअघि एमालेले प्रत्यक्षतर्फ ३३ सिट जितेको थियो ।
सुनसरीका धर्मराज निरौला, काभ्रेका कृष्णप्रसाद सापकोटा, दैलेखका राजबहादुर बुढा, बझाङका भानुभक्त जोशी, डोटीका हर्कबहादुर सिंह, तनहँुका किरण गुरुङ, बागलुङका रामजीप्रसाद शर्मा, पाल्पाका दलबहादुर राना, चितवनका लालमणि चौधरी, सर्लाहीका प्रकाश पाखि्रनले प्रत्यक्षमा जिते पनि यसपटक उनीहरूको स्थानमा एमालेले नयाँ उम्मेदवार अघि सारेको छ ।
यसअघि प्रत्यक्षमा जित्नेमध्येका रामचन्द्र झा, रिजवान अन्सारी, विषमलाल अधिकारी, हितकाजी गुरुङलगायत अन्य पार्टीमा प्रवेश गरिसकेका छन् । त्यसैले ती स्थानमा पनि नयाँ उम्मेदवार अघि सारिएको छ । एमालेले क्षेत्रीय समितिको सिफारिसको आधारमा चुनाव जितेका, निकतम प्रतिद्वन्द्वी र नयाँलाई प्राथमिकता दिने मापदण्ड बनाएको थियो । प्रत्यक्षतर्फ एमालेले ५८ आदिवासी जनजाति, ४८ मधेसी मूलका उम्मेदवार खडा गरेको छ । दलित समदायका चार जना परेका छन् ।
एमालेले मंगलबार २ सय ३८ क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको थियो । भक्तपुर १ र रौतहट ३ मा टुंगो लगाउन बाँकी थियो । स्थायी समितिले भक्तपुर १  रञ्जु नापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रौतहट ३ मा भने कसलाई उठाउने भन्ने बिहीबारसम्म टुंगो लाग्नेछ । मंगलबार सार्वजनिक गरेका उम्मेदवारमध्ये तीन स्थानमा संशोधन गरी नयाँ उम्मेदवार अघि सारेको छ ।
धेरै विवादित भएको काठमाडौं १ बाट भुवन केसीको नाम हटाएको थियो । क्षेत्रीय समितिको तीव्र विरोध भएपछि स्थायी समिति बैठकले कलाकार केसीको स्थानमा क्षेत्रीय समितिको सिफारिसमा परेकी विद्या न्यौपानेलाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ । दुई वर्षअघि मात्र पार्टी प्रवेश गरेका कलाकार केसीलाई क्षेत्रीय समितिको सिफारिसबिनै नेताहरूले उम्मेदवार बनाउने निर्णय गरेका थिए ।
काठमाडौं क्षेत्र नं १ का नेता र कार्यकर्ताले बुधबार अध्यक्ष झलनाथ खनाल लगायतका नेतालाई भेटी केसीको नाम फिर्ता नलिए सबैले राजीनामा दिने चेतावनी दिएका थिए । त्यसपछि स्थायी समितिले केसीको नाम संशोधन गर्दै न्यौपानेलाई अघि सारेको हो । क्षेत्रीय समितिले त्यहाँ न्यौपानेको स्थानमा पूर्वउपमेयर विदुर मैनालीलाई अघि सार्न दबाब दिइरहेको छ । तर उपत्यकामा महिला उम्मेदवार चाहिने भएकाले न्यौपानेको नाम भने संशोधन नगर्ने मनस्थितिमा नेताहरू छन् ।
एमालेले मंगलबार सार्वजनिकमध्ये मोरङ ५ र नुवाकोट २ मा तय गरेका नाम बुधबार संशोधन गरेको छ । मोरङ ५ मा पूजन निरौलाको स्थानमा तुलनात्मक रूपमा बलियो मानिएका रामलाल साह र नुवाकोट २ मा शोभा श्रेष्ठको स्थानमा विन्दा ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेमा तुलनात्मक रूपमा सिफारिस भएका व्यक्तिहरूको नाममा धेरै असन्तुष्टि देखिएको छैन । केही स्थानहरूमा उम्मेेदवारहरूको नामलाई लिएर केही विवाद भएको छ । बाँके ३ मा विजया धितालको नाममा पद्म धिताललगायत स्थानीय नेताहरूले असन्तुष्टि जनाएका छन् । चितवन १ मा सुरेन्द्र पाण्डेलाई अघि सारेकामा  जागृत भेटवाल लगायतका नेताहरूले आपत्ति जनाएका छन् । दोलखा २ मा आनन्द पोरखेलको नामलाई लिएर स्थानीय नेताहरूले आपत्ति जनाएका छन् । 

0 comments:

Post a Comment

 
Top