Welcome |
२८ कात्तिक, महोत्तरी । महोत्तरीमा दुई महिलाको शव फेला परेको छ । दुई छुट्टाछुट्टै स्थानमा दुईजना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
खुट्टा पिपराढी गाविस-९ मा एक र औरही गाविस-३ मा एक गरी दुईवटा शव बरामद भएको हो ।
प्रहरी निरीक्षक इकबाल हवाडीका अनुसार खुट्टा पिपराढी गाविस-९ मा नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ७० वर्षकी वृद्धाको शव अनकन्टार एक खेतमा सडेगलेको अवस्थामा फेला परेको हो ।
स्थानीयवासीका अनुसार मृतक वृद्धा केही दिन पहिलेदेखि त्यस क्षेत्रमा माग्दै हिँड्ने गरेकी थिइन् । प्रहरीले ती वृद्धा पाँच/छ दिन पहिले मरेको हुन सक्ने आशङ्का गरेको छ भने शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाउने तयारी भइरहेको जनाएको छ ।
त्यस्तै गएराति नै जिल्लाको औरही गाविस-३ स्थित जंग्हा खोलाको किनारमा रूखमा झुन्डिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ । नाम, थर, वतन खुल्न नसकेको अन्दाजी २८ वर्षकी ती महिलाको शव सारीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको हो । सोही ठाउँमा एक दुई वर्षकी बालिका रोइरहेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक हवाडीले बताउनुभयो ।
प्रहरीका अनुसार ती महिला केही दिनदेखि औरहीका जयलाल चौधरीको घरमा डेरा लिई बस्दै आएकी थिइन् तर उनी कहाँबाट आएकी र को हुन् भन्नेबारे केही थाहा नभएको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ ।
0 comments:
Post a Comment