Welcome
मोहन वैद्य नेतृत्वको नेकपा माओवादी लगायतका ३३ दलले आह्वान गरेको चक्का जामका कारण देशभर जनजिवन प्रभावित भएको खबर छ । यसले प्रत्यक्ष रुपमा नेपाली सिनेमा उद्योग र कलाकारलाई पनि असर पारेको छ ।तर नेपाली सिनेकर्मीलाई भने बन्दले खासै प्रभाव नपारेको देखिएको छ । ‘बन्द न सन्द’ भन्दै कलाकारहरु काम गरिरहेका छन् । अधिकांश फिल्मीकर्मीले बन्दको विरोध गर्दै फेसबुक र ट्विटरमा आफ्नो बिचार पोखेका छन् भने कतिपयले काम गर्दै गरेको जनाएका छन् ।
नायिका केकी अधिकारीले ‘बन्द न सन्द’ भन्दै आफू काममा लागेको बताइन् । उनले म्यूजिक भिडियो छायांकन गर्दै गर्दाको तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन् ।
यता चलचित्र ‘नाई नभन्नु ल २’ को छायांकनका लागि नायक सरोज खनाल अमेरिका देखि नेपाल आएका छन् । यसैले पनि निर्माण यूनिटले सिनेमाको छायांकनलाई निरन्तरता दिएको छ । नायिका प्रियंका कार्कीले आफूलाई कसैले रोक्न नसक्ने जनाउँदै काममा गइरहेको बताएकी छिन् ।
उनले फेसबुकमा लेखेकी छिन्, ‘बन्द न सन्द । यसरी नी देशको विकास हुन्छ ? वाइगात । म काम गर्छु, अस्ती नि गरे, हिजो नि गरे र आज नि गरिरहेको छु । सवारी साधनमै चढेर आए सुटिङ मा । मलाई कसैले रोक्न सक्दैन, न कुनै डाक्टरले न कुनै वैद्यले । नेपाल खुल्ला छ ।’
नायिका कार्की चलचित्र ‘नाई नभन्नु ल २’ को छायांकनमा व्यस्त छिन् । यस्तै नायक आर्यन सिग्देलले पनि बन्द गर्नेलाई ट्वाइलेटमा थुन्न मिल्दैन भन्दै आक्रोश पोखेका छन् । उनले दिनभरीको बन्दका कारण बेलुकी कतै रमाइलो गरिरहेको तस्बिर पनि सार्वजनिक गरेका छन् ।
मंसिर ४ गतेसम्म गर्ने भनिएको चक्काजामले अन्य क्षेत्र जस्तै सिनेमा नगरी पनि प्रभावित छ । यसैले पनि निर्माताहरुले चुनाव अघि कुनै पनि सिनेमाको प्रदर्शन मिति तय गरेका छैनन् । तर बन्दलाई नै आफ्नो मुख्य अस्त्र मान्दै आएका बन्दकर्ताहरु प्रति जनताको जस्तै नेपाली कलाकारहरुको पनि आक्रोश देखिएको छ ।
 नायिका निशा अधिकारीले पनि बन्दका कारण नेपालको अर्थतन्त्र गिरेको बताउदै असन्तुष्टी पोखेकी छिन् । यि बाहेक अन्य कलाकारले पनि बन्दमा आफ्नो आक्रोश विभिन्न तबरले पोखेका छन् ।

0 comments:

Post a Comment

 
Top