Welcome |
२९ कात्तिक, काठमाडौं । युएईमा शुक्रबारदेखि सुरु भएको ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले डेनमार्कलाई ५ विकेटले पराजित गरेको छ ।
डेनमार्कले प्रस्तुत गरेको ८० रनको विजयी लक्ष्य नेपालले १३.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । निकै खराव सुरुवात गरेको नेपालको पारी कप्तान पारस खड्का र सुवास खकुरेलले सम्हालेका थिए । नेपालले खराव सुरुवात गर्ने क्रममा ओननर प्रदीप ऐरीलाई पहिलो ओभरको चौथो बलमा शुन्यमा नै गुमाएको थियो भने दोस्रो ओभरको पहिलो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल पनि खाता नै नखोली पभेलियन फर्किए । नेपालले दोस्रो ओभरको चौथो वलमा खाता खोलेको थियो ।
नेपालका लागि कप्तान पारसले पाँच छक्का र एक चौकासहित ४८ रन बनाए । पारससँग ६४ रनको साझेदारी गरेका सुवास व्यक्तिगत १६ रनमा आउट भए । पारसको स्थानमा आएका विनोद भण्डारी पनि शुन्यमै आउट भए । सरद भेसवाकर ५ र सागर पुन २ रनमा अविजित रहे ।
यसअघि आईसीसी एकेडेमी ओभल २ मा टस जितेर पहिले व्याटिङ थालेको डेनमार्कले अन्तिम २ बल बाँकी छँदा सबै विकेट गुमाएर ७९ रन बनाएको थियो ।
नेपालका लागि सागर पुनले ३ ओभरमा १२ रन दिएर ३ विकेट लिए । बसन्त रेग्मीले २.४ ओभर बलिङ गर्दै ८ रन दिएर २ विकेट लिए भने समान विकेट लिएका जितेन्द्र मुखियाले ३ ओभरमा १६ रन दिए । कप्तान पारस खड्का र शक्ति गौचनको नाममा एक-एक विकेट रहृयो । अमृत भट्टराईले भने ३ ओभरमा १० रन खर्चिए पनि विकेट लिन सकेनन् ।
समूह बी मा रहेको नेपालले तुलनात्मकरुपमा बलियो प्रतिद्धन्दीको सामना गर्नु पर्ने छ । नेपाल रहेको समूहमा डेनमार्क, केन्या, स्कटल्याण्ड, पपुवा न्यूगिनी, नेदरल्याण्डस्, बर्मुडा र अफगानिस्तान छन् ।
समूह एमा आयरल्याण्ड, क्यानडा, यूएई, नामिबिया, हङकङ, युगान्डा, अमेरिका र इटली छन् । कुल १६ टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष ६ मा पर्ने टिमले अर्को वर्ष बंगलादेशमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।
0 comments:
Post a Comment