Welcome
प्रसंग दसैँको टीकाको पर्सिपल्ट अर्थात द्वादसीबाट सुरु गरौँ। म श्रद्धेय स्वामी प्रपन्नाचार्यकहाँ टिका लगाउन जाने क्रममा गाडीको ढोका बन्द गर्दै थिएँ। करिब ७५ वर्षकी उज्यालो अनुहार भएकी महिला ठिंग मेरो अगाडि उभिइन्। देख्दा लाग्दैनथ्यो, तिनी गरिब परिवारबाट आएकी हुन्। १० रुपैयाँ मागिन्, माग्ने शैलीमा पेशेवर लाग्दैन थिइन्। मुस्काउँदै भनिन्, 'बिहानदेखि एक कप चिया पनि खाएको छैन।' मैले ढोका बन्द गरेँ र भनेँ, 'तपाईँले कति रुपैयाँ माग्नुभएको रे?'
 
'१० रुपैयाँ।'
 
'मैले ५ सय रुपैयाँ दिए भने के हुन्छ?'
 
उनले भनिन्, '१५ दिन जति कसैसँग माग्नु पर्दैन।'
 
'किन र?'
 
'हेर्नुस् बाबु, म बिहान एक कप चिया र एउटा बिस्कुट अनि बेलुका १ पाकेट बिस्कुट र चिया मात्रै खान्छु।'
 
'पुग्छ र?'
 
'धेरै इच्छा गरेर के गर्नु र? इच्छा नै त रहेछ मान्छेको ठूलो सत्रु। आज इच्छाकै कारणले त महलबाट सडकमा आइपुगेँ।'
 
आँसु झार्न थालिन्। आँसुले मलाई भावुक बनायो र हत्तपत्त पाँच सयको नोट उनको हातमा थमाइदिएँ। नोट नयाँ थियो, आँसुका केही थोपा त्यसैमा परे। उनले मतिर हेर्दै भनिन्, 'यसलाई त म सक्ने भए आँसुले खलखली नुहाइदिन चाहन्थेँ, किनभने यसैले मेरो जीवन नरकमय तुल्याइदियो।'
 
जब उनले मेरो हात समाइन्, मैले उनको सबै कुरा सुन्ने इच्छा राखेँ र केही परतिरको चिया पसलतिर इंगित गरेँ। खै उनलाई पनि के लागेछ पछिपछि आइन् र दुईतीनपटक मेरो खुट्टातिर हेरिन्। मैले बुझ्ने कोसिस गरेँ, उनी मेरो चप्पलतिर इसारा गर्दै थिइन्, किनभने उनको खुट्टा खालि थियो। मैले आफ्नो चप्पल फुकालेर दिएँ। सँगै चिया खायौँ, उनको कोटाको एक पुरिया बिस्कुट दिन पनि म चुकिन, अनि उनलाई खुसी बनाउन जिस्क्याएँ, 'ल भन्नुस् अब म तपाईँको छोरा जस्तो लाग्दिन त?'
 
अब चाहिँ उनी मलाई समातेर ग्वाँग्वाँ रुन सुरु गरिन्, 'बाबु छोरा भन्ने नाम नलिए मेरो अगाडि।'
 
म भने अब ढुक्क भएँ, यिनले आफ्नो समस्या पक्कै मलाई सुनाउँछिन्। हाम्रो वरिपरि चिया पिउने सबै चकित थिए। कसैले पागलको इसारा गर्दै थिए भने कसैले माग्नेलाई नचलाउन अनुरोध गर्दै थिए। तर म उनलाई सुन्न चाहन्थे। जब बजै मसँग टाँसिन्, मलाई उनी निकै तातेको महसुस भयो र भनेँ, 'सन्चो छैन कि कसो?'
 
'दुई दिन भयो ज्वरोले इन्तु न चिन्तु छु, सिटामोल खाने पैसा पनि छैन।'
 
मैले झल्याँस्स कालो दाग देखाउन जापान पुगेका राष्ट्रपति, सुशील कोइराला, केपी ओली, झलनाथ खनाल सबै महामानव लगायत कँैयौँले राज्यको ढुकुटी दोहन गरेको सम्झें। ती बुढी महिलालाई तुरुन्तै नजिकैको मेडिकलबाट सिटामोल किनेर दिए। ती बृद्धले आफ्ना कुरा सुरु गरिन्, वास्तविक ठेगाना, नाउँ नबताउने सर्तमा। कारण उनी अझ पनि आफ्नो छोरा, नातेदारको बदनाम हुन्छ भनेर डराउँदिरहिछिन्, अहिलेको सामाजिक संजालको पनि उनलाई ज्ञान रैछ।
 
मैले सोधेँ, 'के म कोसिस गरौँ तपाईँलाई तपाईँको परिवार भेटाउने?'
 
उनी जुरुक्क उठिन् र जान थालिन्, 'मैले रोक्दै भनेँ, ठीक छ, नभन्नुस् तर मलाई तपाईँको बारेमा चाहिँ भन्नुस्।'
 
उनी काठमाडौँकै रैथाने रैछिन्। एउटै छोरो अमेरिका पढ्न पठाएकी अनि आफ्नो खर्च पाँचतले घरको भाडाले टार्दिरैछिन्। पति भने कुनै समय सरकारी सेवाको सेकेण्डक्लास अफिसरसम्म भएकारैछन्। आफूचाहिँ अंगुठाछाप। अमेरिका गएको छोराले उतै विवाह गरेछ र ३ वर्ष पछि बुहारी लिएर फर्किएछ। आमाको मन खुसीले भुइँमा खुट्टा टेकिएन। छोराले आमालाई यहाँ एक्लै नछोड्ने योजना सुनाएपछि वृद्धाले मन नलागिनलागी सबै जायजेथा बेचिन्, छोराले आमाको पासपोर्ट पनि बनाइदिएछ र सबै पैसा उता अमेरिकामा आफ्नो एकाउन्टमा टा्रन्सफर गरेपछि 'ल आमा आज हामी अमेरिका जाने' भनेर बिहान ८ बजे एयरपोर्ट पुगेछन्। छोराले आमालाई बाहिरै राखेर 'तपाईँ बस्दै गर्नुस्, म टिकट मिलाएर आउँछु' भनेर भित्र गयो। दिनको ४ बजे उनले पुलिसलाई सोधेपछि छोराले आफूलाई सर्वस्व लुटेको उनले पत्तो पाइन्। आँसु पुस्दै कसैलाई केही नभनी त्यसबेलादेखि उनी पशुपतिमा बस्न थालेकी रैछिन्।
 
हुन त समय कसैको बसमा हँुदैन। घटना दुर्घटना संसारभरि नै भइरहन्छ। फरकचाहिँ यति हो, जुन देशमा राजनीतिक स्थीरता हुन्छ। त्यहाँ हुने घटनाको प्रकृतिबारे त्यत्तिधेरै अध्ययनका लागि समय खर्चिरहनु पर्दैन। जहाँ सरकार अस्थीर हुन्छ, ऊभन्दा अपराधी ठूला हुन्छन्, त्यहाँ हुने घटनाको प्रकृति भने अध्ययनका लागि निकै रोचक अनि मानवीय संवेदनशीलतालाई कहाली लगाउने हुन्छन्। जब सरकारको नियन्त्रणबाट राज्यका निकाय माफिया वा अपराधीको हातमा पुग्छ, जहाँ सरकार पनि केही मुठ्ठीभरहरुको इच्छामा चल्न थाल्छ, उक्त ठाउँमा सबैभन्दा ठूलो कष्ट यी महिला, केटाकेटी र वृद्धवृद्धाले व्यहोनुपर्छ।
 
ती बुढी आमा त एकजना प्रतिनिधि पात्रमात्रै हुन्। देश त त्यो भन्दा भयावह स्थितिमा गुजि्ररहेछ। संयुक्त राष्ट्र संघकै प्रतिवेदन हेरौँ, भारतको वेश्यालयमा मात्रै दुई लाख महिलाहरु नारकीय जीवन बिताउन वाध्य छन् भने २० हजार वार्षिक भारतमा मात्रै बेचिन्छन्। गाउँगाउँमा वृद्धवृद्धालाई एक घुड्को पानी पिलाउने मान्छेसमेत छैन। युद्धपछिको बस्तीजस्तो लाग्छ। बालबच्चा शिक्षा अनि कुपोषणको मारले ग्रस्त छन्। देशमा कुनै आशा लाग्ने ठाउँ छैन। जसले देश बनाउने ठेक्का लिएका छन्, आफू, परिवार, नातेदार अनि पार्टीका लागि सारा समय खर्चिरहेछन्। देशबाट निर्यात गर्ने वस्तु केही पनि छैन। हाल संसारको अस्तित्वमा रहेका १० प्राचीन देशमध्येको एक यो देश संसारकै मानचित्रबाटै हराउला भन्ने डर भइसक्यो। त्यसैले विदेश जानुमात्र समस्याको समाधान होइन। कति दिन भाग्ने समस्यासँग? कति दिन गाली गर्ने विदेशबाट देशका नेताहरुलाई? समयले कसैलाई पर्खिँदैन। भोलि हरेकका छोराछोरीहरुले आमाबाहरुलाई प्रश्न गर्नेछन्, 'बा तपाईँले चाहिँ के गर्नुभो देशका लागि?'

0 comments:

Post a Comment

 
Top