काठमाडौं । घुस लिँदालिँदै शुक्रबार पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नासु हरिवंश कार्कीको अनुसन्धानका क्रममा थप रकम बरामद भएको छ ।
अनुसन्धानका क्रममा हिरासतमा रहेका नासु कार्कीको कपन–३ स्थित घरमा थप रकम रहेको र उनकी श्रीमती लक्ष्मी लम्साल कार्कीले अन्यत्रै लगी लुकाउन सक्ने सूचनाका आधारमा खटी गएको आयोगको टोलीले थप रकम बरामद गरेको हो । आयोगको टोलीले सोही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचपास परीक्षण कार्यालयमा कार्यरत नासु सुरेश थपलियाको सुकेधारास्थित घरबाट लुकाई छिपाई राखेको अवस्थामा आज ५१ लाख २०० रुपैयाँ बरामद गरेको छ ।
रकम बरामदसँगै नासु थपलिया र नासु कार्कीको श्रीमती लक्ष्मी लम्साल कार्कीलाई आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । शुक्रबारको रु २१ लाख ४० हजार र आजको रु ५१ लाख २०० गरी यो प्रकरणमा रु ७२ लाख ४० हजार २०० बरामद भएको आयोगले जानएको छ ।
नासु कार्कीसहित भन्सार एजेन्टहरु प्रेम अधिकारी र देवराज भट्टराई भारतीय नागरिक अभिषेक सरकारको मुद्दा मिलाइदिने भन्दै रु २१ लाख ४० हजार नगद घुस लिइरहेको अवस्थामा शुक्रबार पक्राउ परेका थिए । उनीहरुको साथबाट दुई गाडीसहित भन्सार कार्यालयका सवारी चालक पुरुषोत्तम थापालाई आयोगले नियन्त्रणमा लिएको थियो ।
0 comments:
Post a Comment