Welcome

धेरै अभिभावकको रहर हुन्छ, आफ्ना छोराछोरीले खरर्र अंग्रेजी बोलुन् । त्यसैले त बोर्डिङ स्कुलमा विद्यार्थी भरिएका हुन् । तर लमजुङका केही सरकारी विद्यालयले अंग्रेजी माध्यममा पढाउन थालेपछि खस्केको शिक्षाको गुणस्तर उकासिएको मात्रै छैन, बोर्डिङका विद्यार्थी समेत सामुदायिक विद्यालयमा फर्केका छन् ।

नेपालीमा पढाई रहेका शिक्षक र त्यसरी नै पढिरहेका विद्यार्थी अहिले जानीनजानी अंग्रेजी सिक्दै गरेको सुन्न र हेर्न रमाइलो लाग्छ । भौतिक संरचनाको अभावमा एउटा कक्षालाई दुईवटा बनाएर पढाई भइरहेको छ ।
तर पढाई भने गज्जबकै छ ।  लमजुङको अर्चलबोट गाविसमा रहेको अलैँचे प्राविका दुई कक्षाका विद्यार्थी आफूले जानेका कुरा अंग्रजीमै सुनाउँछन् ।
तीन कक्षामा पुगेपछि मात्रै अंग्रेजी पढाउने चलनलाई लमजुङका विद्यालयहरुले फेरेका छन् । हिजोआज एक कक्षादेखि नै अंग्रेजीमा पढाई हुन्छ । ‘सिकाईका लागि अंग्रेजी, अंग्रेजीका लागि सिकाई’ यो भनाईलाई लम्जुङका विद्यालयले मूलमन्त्र जस्तै बनाएका छन् । यो क्रम सुरु भएको चारवर्ष भयो । विद्यार्थी पनि अंग्रेजीमै अभ्यस्त हुन थालिसके भन्नुहुन्छ, अलैँचे प्राविका शिक्षक देवीभक्त रेग्मी । विद्यालयको माग अनुसार ग्लोबल एक्सन नेपालले शिक्षकका लागि तालिम र शैक्षिक सामग्री उपलव्ध गराउँछ ।
लमजुङका ३१ वटा विद्यालयले यसरी अंग्रेजी माध्यममा पढाउन थालेपछि विद्यार्थी सामुदायिक विद्यालयमा आकर्षित भएका छन् । त्यसरी पढाउने विद्यालयमध्ये सूर्योदय निमावि बोझे, र सरस्वति सदन मावि सिन्दुरे उत्कृष्ट भएका छन् । यी दुई विद्यालयले जनही ५० हजार रुपैयाँ पुरस्कार समेत पाएका छन् ।
बोर्डिङको भन्दा धेरै सेवा सुविधा दिएर शिक्षक समेत सरकारी विद्यालयमा तान्ने होडबाजी पनि चलेको छ । केदार प्राविका प्रधानाध्यापक लक्ष्मीप्रसाद ढकाल अभिभावकले अंग्रेजीमा जोड दिएकाले पनि विद्यार्थीको पढाई सुध्रिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘अहिले त बोर्डिङ छुटाएर सरकारी विद्यालयमा विद्यार्थी भर्ना गरेका छन् ।’  
निमित्त जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर अछामीले शिक्षक, अभिभावकले चाहेमा स्थानीयस्तरमा सामुदायिक विद्यालय राम्रा र गुणस्तरीय बन्ने बताउनुभयो । पछिल्ला केही बर्षयता नेपालका सामुदायिक विद्यालयहरु धेरै आलोचित छन् । खासगरी एसएलसीको नतिजाको बेलामा त्यो आलोचना धेरै हुन्छ । धेरैजसो विद्यार्थी अंग्रेजी र गणितमा फेल भइरहेको अवस्थामा लमजुङका विद्यालयहरुले थालेको यो अभियान देशका अरु ठाउँमा पनि लैजान आवश्यक छ ।

0 comments:

Post a Comment

 
Top