April 13, 2025 06:04:22 AM Menu

Welcome

धादिङको कटुन्जे गाउँ विकास समितिको वडा नं ७ कामीगांउँमा सोमबार २ बालिकाको रहस्यमय मृत्यु भएको छ भने १ बालिका सिकिस्त बिरामी भएकी छिन् ।

घर नजिकै रहेको किराना पसलको छेउमा छट्पटिरहेको अवस्थामा भेटिएका बालिकाहरुलाई उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा २ बालिकाको बाटो मानै मृत्यु भएको हो भने १ बालिकाको सदरमुकाम धादिङवेशीमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ ।

मृत्यु हुनेमा कटुन्जे गाउ विकास समिति वडा नं ७ का चन्द्रवहादुर विश्वकर्माकी ५ वर्षिय छोरी रन्जिता विश्वकर्मा र इन्द्र वहादुर विश्वकर्माकी ४ वर्षिय छोरी एलिना विश्वकर्मा रहेका छन्। सिकिस्त अवस्थामा फेला परेकी कान्छी विश्वकर्माको भने गम्भीर अवस्थामा काठमाडौं वसुन्धरास्थित इशान अस्पतालमा उपचार भइरहेको छ ।

आफुले बच्चाहरुलाइ फेला पार्दा उनीहरुको मुखवाट फिज निक्लिरहेको मृतक रन्जिता विश्वकर्माकी आमा शान्तिमायाले बताइन् । मृतक बालिकाहरुको साथवाट ३ पोका झिंगा मार्ने औषधि फेला परेको अभिभावकले बताएका छन् । रन्जिता विश्वकर्माकी आमा शान्ति विश्वकर्माले भनिन, ‘म दाउरा खोजेर घर आएकी थिए, छोरीहरुलाई घरमा नदेखेपछि खोज्दै जाँदा किराना पसल नजिकै छट्पट्टिरहेको अवस्थामा फेला पारेपछि तत्काल उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै बितिसकेछन् ।

तीनवटै बालिकाहरु नजिकैको नारायणी देवी प्राविमा पढ्न जाने गरेको भए पनि सोमबार तीनजना नै स्कुल गएका थिएनन्। शान्तिमायाले रुदै भनिन,‘आमा आज स्कुल जान्न है आमा गाली नगर, म भोलीदेखि स्कुल जान्छु भन्दै खेल्न गएकी मेरी छोरी अब कहिल्यै नफर्कने भइन् ।’

किराना पसल संचालक नरबहादुर गुरुङले भने आफ्नो पसलमा वेच्न राखेको झिगा मार्ने औषधिको बट्टा नै हराएको बताए । नरवहादुर गुरुङकी छोरी हरीमाया गुरुङले भनिन,‘बुवा पसल खुल्लै राखेर मैले काटेको घाँस लिन जानुभएको थियो त्यही बेलामा कफी चक्लेटको बट्टामा राखेको झिंगा मार्ने औषधिको बट्टानै हराएको रहेछ । ’पसलमा वालवालिकाहरु छिर्न नसक्ने गरि बार लगाएको भए पनि कसले औषधि झिक्यो भन्ने बारेमा आफुलाई थाहा नभएको गुरुङले बताइन् ।

बच्चाहरु आफैले झिंगाको औषधि झिकेर खाएको नभइ कसैले खुवाइदिएको हुनसक्ने स्थानिय विष्णु विश्वकर्माको आरोप छ । मृतकका आफन्तहरुले घटना रहस्यमय भएको भन्दै तत्काल छानविन गर्न जिल्ला प्रहरी कार्यलय धादिङमा जाहेरी दिएका छन् ।
23 Dec 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top